सितापाइला घटना :श्रीमती,छोरी र नातिनीको हत्यापछि काजीले छोरोलाई भिडिओ खिच्न लगाए

काठमाडौँ । काठमाडौंको सीतापाइलामा श्रीमतीसहित तीन जनाको हत्या गरेपछि राजु घिमिरे भन्ने काजी विश्वकर्माले भिडिओ बनाएर सन्देश छाडेको भेटिएको छ।

उनले १४ वर्षका छोरा अनिश श्रेष्ठलाई उनकै मोबाइलबाट खिच्न लगाएर घटनाको कारण खुलाउँदै छोरा(बुहारीलाई मिलेर बस्न भनेका छन्।

बुधबार बिहान श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या गरेपछि काजीले १४ वर्षका छोरा अनिशलाई मोबाइलबाट भिडिओ खिच्न लगाएको प्रहरीको भनाइ छ।

उनले भिडिओमा बुहारी जेनी श्रेष्ठसँग गुनासो गर्दै आउँदा दिनमा छोरासँग मिलेर बस्न र आफ्नो छोरा अनिशलाई हेला नगर्न भनेका छन्।

श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका कारण हत्या गरेको उनले भिडिओमा बताएका छन्। यसबारे बुहारी जेनीलाई पहिल्यै थाहा भए पनि आफूलाई नभनेका कारण घटना हुन पुगेको काजीको भनाइ छ।

‘मैले हिजो बेलुका भनेको काम गरिसकेको छु। मैले भनेको सबै कुरा भइसक्यो। मैले गरिसकेँ। यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन। रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ। तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन। तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ’, भिडिओमा भनेका छन्।

भिडिओमा अगाडि थपेका छन्, ‘मैले बाँचेर गरी खाने ठाउँ भएन। आज पो राम्रो होला कि, भोलि पो राम्रो होला कि भनेर हेरेँ। कहिल्यै पनि राम्रो भएन। त्यही भएर मैले यस्तो निर्णय गरेको छु। तिमीहरू मिलेर गरिखानू। मिलेर बस्नू। ममीजस्तो भएर नहिँड्नु। त्यही हो मेरो भनाइ। माफ गरिदे मलाई, मैले हिजो सोचेको सबै गरिसकेँ। अनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु। अनिशबाट तैँले लिनु, कसैलाई पनि नदिनु चाबी। सुन सबै दराजमै छ। एकचोटी मात्रै अनिशलाई हेला गरेको देखेँ भने तलाई पनि राम्रो हुँदैन।’

त्यसपछि काजीले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरिसकेको बताएका थिए। आफूले पनि अब आत्महत्या गर्ने बताए। अरुको हत्या गरेको र आफू पनि आत्महत्या गर्ने बताएपछि आफन्तले प्रहरीलाई खबर गरे। तर प्रहरी पुग्दा उनी घरभन्दा माथि जंगलमा झुण्डिएको अवस्थामा फेला परे।

ईश्वरी श्रेष्ठ र काजी विश्वकर्माले १८ वर्ष पहिले प्रेम विवाह गरेका थिए। काजीसँग विवाह गर्नुअघि ईश्वरीले पहिलेका श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन्।

पहिलेका श्रीमानबाट जन्मिएका छोरा हुन् अनिल। उनी वैदेशिक रोजगारीमा छन्। जेनी अनिलकी श्रीमती हुन्। नातिनी शिवानी अनिल र जेनीका छोरी हुन्।

ईश्वरी र काजीको सम्बन्धबाट एक छोरा र एक छोरी जन्मिएका थिए, १४ वर्षका अनिश र ८ वर्षकी अनिशा। तर अनिशाको आमासँगै हत्या भयो। अनिशलाई भने घटनापहिले नै काजीले पसलमा पठाए।

पसलबाट फर्किएपछि भिडिओ खिच्न लगाए। अनिशकै मोबाइलमा उक्त भिडिओ फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएको छ। यस विषयमा सोधपुछ भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए।

‘भिडिओ फेला परेको छ। यस विषयमा हामी अनुसन्धान गर्दै छौँ’, एसएसपी खत्रीले भने। उनीहरूको सम्बन्धमा केही वर्ष पहिलेबाटै खटपट भएको खुलेको छ। पटकपटक उनीहरूको झगडा भएको र कतिपय घटनामा मुद्दा मामिलासमेत भएको प्रहरीले बताएको छ।

काठमाडौंको नागार्जुन नगरपालिका ६ सीतापाइलास्थित भैरवटोलमा डेरा गरी बस्ने काजी विश्वकर्मा ज्याला मजदुरी गर्थे। उनले श्रीमतीलाई परपुरुषसँगको सम्बन्धमा शंका गर्दै ज्यान लिएको प्रहरीको प्रारम्भिक आकलन छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts