काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय यतिखेर फ्रान्समा छिन्। बिहीबार राति भएको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा ऐश्वर्या आकर्षक रूपमा प्रस्तुत भइन्। जुन लुक्सको अहिले निकै चर्चा भइहेको छ।
ऐश्वर्या फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरका लागि रेडकार्पेटमा सहभागी भएकी थिइन्। उनले कालो र सुनौलो गाउन लगाएकी थिइन्। कान्सको रेडकार्पेटमा ऐश्वर्या पहिलोपटक कालो गाउनमा देखिइन्।
मिनिमल मेकअपमा देखिएकी उनले सुनौलो रङको हुप्स लगाएर आफ्नो लुक्स पूरा गरिन्। ऐश्वर्याको यो लुक्सलाई मोनोक्रोमेटिक लुक्स भनिन्छ। जसलाई डिजाइनर जोडी फाल्गुनी र शेनले डिजाइन गरेका हुन्।
उनले पहिलोपटक २००२ मा कान्स फिल्म फेस्टिभलमा भाग लिएकी थिइन्। त्यसपछि उनलाई प्रत्येक वर्ष लोरियल पेरिसको ब्रान्ड एम्बास्डरका रूपमा सम्मान गर्ने गरिएको छ।
ऐश्वर्या कान्स फिल्म फेस्टिभलका लागि बुधबार भारतबाट प्रस्थान गरेकी थिइन्। त्यस क्रममा उनी आफ्नी प्यारी छोरी आराध्यासँग मुम्बई एयरपोर्टमा देखिएकी थिइन्। कान्समा पनि उनी आमासँगै साथमा थिइन्।
यसबाहेक अर्को ऐश्वर्याको भाँचिएको हातले पनि धेरैको ध्यान खिचिरहेको छ। एक हातमा भाँचिएको भए पनि अभिनेत्रीले कान्स फिल्म फेस्टिभलमा भाग लिइन्, जसका कारण उनको निकै प्रशंसा भइरहेको छ।
