काठमाण्डौं । पूर्वी काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ का स्थायी बासिन्दा हुन कोमल प्रसाद लामिछाने । उनी नेपाली काँग्रेसका पुराना स्थानीय नेता पनि हुन् । आजकाल लामिछाने नेपाली काँग्रेसका कुनै पनि कार्यक्रमहरुमा देखिदैनन् । तर उनको मष्तिष्कमा भने आधुनिक नेपाली राजनीतिक इतिहासमा अहिलेसम्मका सर्वाधिक लोकप्रिय राजनेता बिपी कोइरालाले रोपेको काँग्रेसको विचार भने अझै जीवित रहेको छ । बिपीविना बितेको ४० वर्षमा नेपाली राजनीतिमा ठूला आन्दोलन र परिवर्तन भए । पञ्चायत ढल्यो, प्रजातन्त्र आयो, लोकतन्त्र र गणतन्त्र पनि आयो । तर नेपाली काँग्रेस किन वैचारिक विचलनमा पुग्यो भन्ने विषमा उनै लामिछानेसँग जीवित रहेको काँग्रेसी विचारका वारेमा चर्चा गर्दै छौं ।
सबै परिवर्तनको नेतृत्व बिपीकै कनिष्ठ भ्राताले गरे, बिपीकै अनुयायी र उनैले स्थापना गरेको कांग्रेसले गर्यो । तर, यी परिवर्तनमा कहीँ कतै बिपी भेटिन्नन् । विचारधारा, सिद्धान्त, निष्ठा र मूल्यको राजनीति भए न त्यहाँ बिपी भेटिन्थे र कहिलेकाहीँ गणेशमान र किसुनजी भेटिँदा हुन् । वर्तमान नेपाली राजनीतिबाट विचारको राजनीति, मूल्य–मान्यता अनि निष्ठा र आदर्शको राजनीति पूरै मरिसकेको छ । केवल विचारशून्य सत्ताको राजनीति मात्र जीवित छ, त्यो राजनीति पनि अब बलशाली र धनशालीको कब्जामा छ, बिचौलिया र दलालको कब्जामा भएको लामिछानेले बताए ।
कांग्रेसले अहिलेसम्म राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो मूलभूत सिद्धान्त मान्दै आएको हो । शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ट चरणमा गरिएको सहमति, सहकार्य र एकता’ प्रयासलाई सामान्य राजनीतिक अभ्यासको हतियार बनाउने प्रयास भएको छ । निर्वाचनमा दलबीच स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न छाडेर विचार नमिल्नेबीच सत्ताका लागि तालमेल गर्नु नै काँग्रेसको प्रजातन्त्र विरोधी निर्णय हो । प्रजातन्त्र भनेको बहुमत र अल्पमत हो । बहुमतले शासन गर्छ । अल्पमतले सरकारलाई दबाब दिन्छ, पाँच वर्ष कुर्छ, जनताबीच जान्छ । सके अर्कोपटक चुनाव जितेर आउँछ, सरकार बनाउँछ । विचार र सिद्धान्त नमिल्नेसँग मिलेर चुनावमा जाने भनेको राजनीतिक सिन्डिकेट सिर्जना गर्नु हो उनी भन्छन् । सत्ताका लागि कम्युनिस्टसँग तालमेल गरेर काँग्रेसले बाटो बिराएको लामिछानेको ठम्याइ छ ।
काँग्रेसले विचार र सिद्धान्तलाई मानेर उ बेलै राजा महेन्द्रले भनेको खुरुखुरु मानेको भए अहिलेका नेताले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थमा दिल्ली वा बेइजिङ धाउनु पर्दैन थियो , उनले बताए । कांग्रेसजस्तो प्रजातन्त्रवादी दलले कम्युनिस्ट पार्टीहरूसँग गर्ने तालमेल एक प्रकारको राजनीतिक बेइमानी भएको उनले बताए । उनले
नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी लोकतान्त्रीक राजनीतिक दल भएको तर हालका सभापति शेरबहादुर देउवाले पार्टीलाई सम्हाल्न नसक्ने बताए ।
नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट बि स २००६ साल चैत २७ गते जन्मिएको नेपाली काङ्ग्रेस पुरानो राजनीतिक दलमध्येको एक हो। विश्वेश्वरप्रसाद कोइरालाले २००३ साल असोज १६ मा पटनाबाट प्रकाशित हुने द सर्च लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सङ्गठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सङ्गठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको उनले बताए ।
भारतीय स्वतन्त्रता सङ्ग्रामका योद्धा समेत रहेका विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा २००३ साल कात्तिक १५ गते बनारसमा बस्ने नेपालीहरूलाई सङ्गठित गरी बाबु समानका पिताजी कृष्ण प्रसाद कोइरालाका समकालिन देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्थाको बनारसमा स्थापना भएको थियो । आज नेपाली कांग्रेस वैचारिक विचलनमा पुगेको छ भने विचार मरेको कम्युनिस्ट बोकेर आफू बाँचिरहने असफल प्रयास गरिरहेको लामिछाने बताउँछन् ।