नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान

काठमाडौँ : नेपाल पानी उद्योग महासंघका अध्यक्ष बिक्रम लिम्बु चेमजोङको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल व्यापारिक भ्रमणका लागि ओमानको मस्कट प्रस्थान गरेको छ। गैर-आवासीय नेपाली सामाजिक क्लब-ओमान (एनआरएनएसटी) र नेपाल निर्यात व्यवसायी महासंघ (फीन) को संयुक्त आयोजनामा हुन लागेको MOU साझेदारी कार्यक्रममा सहभागी हुन सोमबार उक्त टोली ओमानतर्फ लागेको हो।

नेपाल र ओमानबीच व्यापार प्रवर्द्धन, दुई देशका उद्यमीहरूबीच आपसी सहयोग तथा व्यावसायिक अवसरहरूको विस्तार गर्ने मुख्य उद्देश्यका साथ पानी महासंघको प्रतिनिधि मण्डल व्यापारिक भ्रमणका लागि ओमानको मस्कट प्रस्थान गरेको हो ।

भ्रमणका क्रममा नेपालबाट ओमानमा नेचुरल स्प्रिङ वाटर र ग्ल्यासियर वाटर जस्ता पिउने पानी निर्यात गर्ने विषयमा महत्त्वपूर्ण ‘बिजनेस टु बिजनेस’ (B2B) सम्झौता (MOU) मा हस्ताक्षर हुने सम्भावना रहेको महासंघले जनाएको छ। प्राकृतिक जलस्रोतमा धनी रहेको नेपालका लागि उक्त सम्झौता व्यावसायिक रूपमा पानी निर्यात गर्ने ढोका खोल्न ऐतिहासिक कदम सावित हुने अपेक्षा गरिएको छ।

उक्त व्यापारिक भ्रमण टोलीमा नेपालका विभिन्न प्रदेशका इन्चार्ज तथा केन्द्रीय पदाधिकारीहरूको प्रतिनिधित्व रहेको छ। प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष एवं बागमती प्रदेश प्रतिनिधि विक्रम लिम्बु चेम्जोङ, मधेस प्रदेश इन्चार्ज प्रमोदकुमार साह, र गण्डकी प्रदेश इन्चार्ज एवं महासंघका उपाध्यक्ष रवीन्द्रमोहन अधिकारी सहभागी रहेका छन्।

त्यस्तै लुम्बिनी प्रदेश इन्चार्ज एवं महासंघ उपाध्यक्ष पुरुषोत्तम पाण्डे, कर्णाली प्रदेश इन्चार्ज एवं महासंघका अर्का उपाध्यक्ष कृष्णप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश प्रतिनिधि प्रकाश शाही र कोशी प्रदेशका प्रतिनिधि सुदीप थापा पनि भ्रमण टोलीमा रहेका छन्।

महासंघको टोलीलाई त्रिभुवन विमानस्थलमा महासंघका बरिष्ठ उपाध्यक्ष भरत बुढाथोकी,केन्द्रिय सदस्य हरि गिरी , काठमाण्डौ पानी उद्योग संघका अध्यक्ष गोकुल थापा , महासचिव अमराज लामा र मुल्य निर्धारण समितिका संयोजक भिमसेन खतिवडाले विदाई गरेका थिए । ओमानमा विभिन्न व्यापारिक छलफल र सम्झौता सम्पन्न गरी प्रतिनिधि मण्डल आगामी शुक्रबार स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts