काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय सम्मेलनको समापन सत्रमा प्रस्ताव प्रस्तुत गर्दा नेताहरुबीच विवाद देखिएको छ।
सम्मेलनको हलमा आएका सुझाव संकलन गरेर तयार गरिएको प्रस्ताव निर्णयार्थ हलमा प्रस्तुत गर्ने क्रममा नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच विवाद देखिएको हो।
‘१४औँ महाधिवेशनबाट बनेको निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ’ भन्ने प्रस्ताव पढेर सुनाएपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो। नेताहरूबीच अलमल भएपछि निर्णयकै पूरक केही वाक्य पढेर सुनाइयो, ‘उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ।’
त्यसपछि प्रस्ताव पढिरहेको पोडियममा नेता प्रकाशशरण महत आइपुगे। उनले ‘कार्यसमिति’ शब्द निर्णयमा राख्न आग्रह गरेको सुनिन्थ्यो। त्यसपछि निधि पोडियममा आए महतलाई हट्न आग्रह गरे।
‘तपाईंहरू हट्नुस्, म बुझ्छु’ भन्दै निधिले भने।
नेता प्रकाशशरण महतका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र धर्मबारे निधिसँग कुराकानी भएको बताए।
तर, उनीहरूबीच भनाभन र कागज खोसाखोस भएको सामाजिक सञ्जालहरुमा सार्वजनिक भिडिओमा देखिन्छ।
महतले प्रस्तावमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ उल्लेख गरेपछि निधिले फरक मत राखेका थिए। प्रस्तावमा ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने निधिको तर्क थियो।
मञ्चमै शीर्ष नेताहरूबीच खोसाखोस र विवाद भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको निर्देशनपछि डा. महतले नै तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो।
निधिसँगको विवादबारे महतले भने, ‘धर्मको बारेमा चाहिँ अलिकति अहिले यो हामीले त अब सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा लाने भन्ने भयो नि त! उहाँको केही कुरा थियो तर मिलिहाल्यो पछि। त्यस्तो केही पनि भएको छैन। प्रस्तावहरु सर्वसम्मतरुपमा पारित गरिएको छ।’
