संसारलाई ज्ञान बाँडिहिँड्ने स्वामी शीतलकृष्णका कर्तुत:श्रीमती कुटपिटदेखि गर्भपतनसम्म

समाज भन्छ उनी भगवान ??

काठमाडौँ । स्नातक अन्तिम वर्ष पढ्दै थिइन्। कोरोना महामारी फैलियो। देशमा लकडाउन भयो। काठमाडौँमा बसेर पढिरहेकी स्वीकृति पौडेल चितवन घर गइन्। त्यही समयमा भागवत कथावाचक शीतलकृष्ण भुसाल उनको हात माग्न पुगे।

स्वीकृतिका बुवाआमालाई लाग्यो, ‘संसारलाई ज्ञान बाँडिहिँड्ने मान्छे आफू पनि ज्ञानी छन्। जाँडरक्सी खाँदैनन्। छोरीको जिन्दगी खुसीसाथ बित्छ। यत्तिको केटा आउँदा विवाह गरिदिनुपर्छ।’

स्वीकृतिले पनि नाइँ भन्न सकिनन्।

उनीसँग ठूलो महत्त्वाकांक्षा थिएन। स्वावलम्बी बन्ने, असल मान्छेसँग विवाह गर्ने र खुसीसाथ पारिवारिक जीवन बाँच्ने कल्पना कहिलेकाहीँ गर्थिन्। बस्।

विवाहको ६ महिनासम्म स्वीकृतिको जीवन उनको कल्पनाअनुरूप नै थियो।

‘जब श्रीमानले लगाउने पगडीभित्र लुकाएर राखेको कन्डम भेटेँ, त्यसपछि मैले मेरो श्रीमानलाई चिनेँ। तर जस्तोसुकै परिस्थितिमा पनि घर गरेर खानु थियो। प्रश्न गरे पनि उहाँलाई माफी गरिदिएँ,’ स्वीकृति सुनाउँछिन्।

करिब ६ महिना शीतलसँग स्वीकृति वृन्दावनमा बसिन्। यो बसाइ उनका लागि कति कष्टकर थियो, व्यक्त गर्ने कुनै शब्द छैन।

‘कयौँपटक रिक्साले हानेर मारोस् भनेर बेहिसाब हिडेँ,’ स्वीकृति सम्झिन्छिन्।

शीतलकृष्णका एकपछि अर्को अत्याचारको साक्षी हुँदै गइन् उनी। घरेलु हिंसामा पिल्सिँदै गइन्। जसरी आमाले लबटो हानेको बच्चा आमाकै काखमा लुटपुटिएर रुन चाहन्छ, त्यसैगरी उनी श्रीमानले दिएको चोटको ओखती श्रीमानसँगै खोजिरहेकी थिइन्।

उनलाई लागेको थियो, प्रेमले पशुलाई त वशमा पार्न सकिन्छ। दुनियाँलाई परिवारका कथा सुनाउने, समाजको नजरमा ज्ञानी कहलिएको मान्छेलाई एक दिन महसुस होला, आफू हिँडेको बाटोका बारेमा। अनि सुमधुर बन्ला सम्बन्ध। तर, यो स्वीकृतिको कल्पना मात्रै थियो। यथार्थ यस्तो हुन सकेन।

कहिलेकाहीँ शीतलकृष्णलाई सम्झाउन खोज्थिन् उनी, ‘यो बाटो गलत स्वामीजी। यसले हामी दुवैको जीवनमा असर गर्छ।’

कहिले प्रश्न गर्थिन्, ‘मबाट कुन तृष्णा मेटिएन हजुरको र परस्त्री गमनमा लिप्त हुनुहुन्छ?’

प्रतिउत्तरमा शीतलकृष्ण मरणासन्न हुने गरी पिट्थे। ‘मेरो शरीर र मन दुवै कमजोर हुँदै गयो। तर, मैले मेरी आमालाई पनि उहाँका हर्कतका बारेमा बताउन सकिनँ। समाजका लागि त उहाँ मान्छे होइन, भगवान हुनुहुन्छ। अहिले म उनीहरूका भगवानका काला कर्तुत बोलिरहेछु। ममाथिका हर प्रहारलाई स्वाभाविक रूपमा लिन्छु,’ स्वीकृति भन्छिन्।

श्रीमानको यातनाले फेरिँदै गयो घरका मानिसले गर्ने व्यवहार। स्वीकृति बिस्तारै बुहारी कम, कामदार ज्यादा हुँदै गइन्। श्रीमानको प्रेममा बिर्सिएको सक्षमताको बाटो स्वीकृतिले कयौँपटक सम्झना गरिन्। व्यवस्थापनमा स्नातक सकेकी उनले श्रीमानसँग बारम्बार काम गर्छु, आयआर्जन गर्छु भनिरहिन्। तर, श्रीमानले सधैँ एउटै प्रश्न गरे, ‘कति कमाउँछौ जागिर गरेर? म दिन्छु।’

‘श्रीमानले पैसा त दिन्थे तर हरेक रुपैयाँको हिसाब दिनुपर्थ्यो। मैले महिनावारीको प्याड किनेको पनि श्रीमानलाई हिसाब बुझाएको छु। मेरा रहर त कति कुण्ठित थिए, म कुन शब्दमा व्यक्त गरुँ?’ स्वीकृति आफैंसँग प्रश्न गर्छिन्।

उनलाई लाग्थ्यो, अहिले नपाएको माया सन्तान भएपछि पाइएला। गर्भमा बच्चा बस्यो। स्वीकृतिले खुसी हुँदै श्रीमानलाई बताइन्। तर, शीतलकृष्ण खुसी भएनन्। उनले श्रीमतीलाई फकाए। उमेर, करिअर र स्वास्थ्य सबैको त्रास देखाए। गर्भपतन गराए। त्यसपछि शीतल र स्वीकृतिको सम्बन्धमा न्यानोपन बाँकी रहेन।

स्वीकृति भन्छिन्, ‘मैले मेरो श्रीमानलाई निःसर्त प्रेम गरिरहेँ। यसैलाई उहाँले कमजोरी ठान्नुभयो र ममाथि अन्याय गरिरहनुभयो।’

उनी दुःख देखाएर दुखाउन चाहन्नथिन् आमाबुवालाई। हरेक दुःख छातीमा लुकाएरै हिँडिन्। स्वामीको मन आफूतिर फर्किन्छ कि भनी प्रेम गर्न, माफ दिन र सम्झाउन छोडिनन्।

उनले धेरै पछि बुझिन्, ‘खासमा यो अस्वस्थ सम्बन्ध रहेछ। मैले एक्लैले चाहेर जोगाउन सकिनँ। उहाँले नै अन्त्य गर्न चाहेको सम्बन्ध उहाँ नै भागेर हिँड्दा अहिले छरपस्ट भयो।’

अन्याय गर्ने र सहने सिलसिला चलेकै थियो। स्वीकृतिले परस्त्रीसँगको यौन सम्बन्ध थाहा पाइन्। त्यसपछि उनको मन टुट्यो।

‘श्रीमान बाँड्न नसकिँदो रहेछ। श्रीमानको अर्को सम्बन्धले म मानसिक रूपमा विक्षिप्त भएँ। त्योबेला पनि मेरो गएर रुने ठाउँ थिएन। मेरा आमाबुवा पनि उहाँका प्रशंसक। उहाँले परिवार कसरी सुन्दर पार्ने भनेर दिएका प्रवचन सुनेर मुग्ध समाजमा मेरो आवाज भित्रै दब्यो,’ उनी सुनाउँछिन्, ‘मैले बाहिर रोएर श्रीमानको करिअर धरापमा पार्न पनि चाहिनँ। चुपचाप एक्लै रोएँ। यसले मलाई कमजोर बनायो। अहिले लाग्छ, मैले गलत गरेँ, अरु छोरीहरूले यो गल्ती नगरून्।’

शीतलकृष्ण बेलाबेला आफू सच्चिने वाचा गरिरहन्थे। स्वीकृति श्रीमानको वाचामा उनले गरेका सबै अपराध बिर्सिएर मुस्कुराउँथिन्। त्यो वाचा धेरै दिन टिक्दैनथ्यो। गएको साउनमा पनि त्यस्तै भयो। स्वीकृतिको जन्मदिन थियो। शीतलकृष्णले श्रीमतीको जन्मदिनको केक काटे। अंकमाल गरेर शुभकामना दिए। घरबाट निस्कने बेला भने, ‘मेरो गाडीमा पेट्रोल हाल्ने पैसा देऊ न।’

उनीसँग ५ हजार थियो। श्रीमानलाई दिइन्।

घरबाट निस्कँदा निधारमा चुम्बन गरेर निस्किएका शीतलकृष्णले भोलिपल्ट नवलपरासी जिल्ला अदालतमा गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे। यो खबर स्वीकृतिका भिनाजुलाई आयो। उनले भान्जी र दिदीलाई सुनाए। सुरुमा स्वीकृतिले विश्वास गर्न सकिनन्। त्यसपछि बेहोस भएकी उनलाई राम्रोसँग होसमा आउन ३ दिन लाग्यो।

परिवारले बल्ल थाहा पायो, स्वीकृतिमाथिको ज्यादती। ‘यो घटनापछि मेरो मानसिक स्वास्थ्य झन् बिग्रँदै गयो,’ स्वीकृति सुनाउँछिन्।

स्वीकृतिले नवलपरासी प्रहरीमा आफू घरेलु हिंसामा परेको उजुरी दिइन्। उनले उजुरी गरेको पनि आधा वर्ष बितिसक्यो, न शीतलकृष्ण चौकीमा आउँछन् न प्रहरीले उनलाई पक्राउ गर्छ। आफैँले हालेको सम्बन्धविच्छेदका लागि अदालतले बोलाउँदा पनि उनी अदालतमा हाजिर हुँदैनन्। वारेसनामा लिएर उनका भाइ अदालत हाजिर हुन्छन्।

‘अब श्रीमानले माया गर्दैनन्। उनको मन अन्त बसेको मात्रै होइन, अर्को सम्बन्धबाट उनको सन्तान नै भैसक्यो। उनलाई मन नभएको सम्बन्धमा बाँधिराख्ने मेरो पनि चाहाना होइन। मसँगको सम्बन्ध तोडेर खुसी हुन्छन् भने म उनको खुसीको बाधक बन्दिनँ,’ उनी भन्छिन्, ‘तर, हिजो मेरा बाआमासँग तपाईंकी छोरी दिनुस् भनेर हात जोडेर मागेर विवाह गरेकी श्रीमती हुँ। आज पनि मेरा बाआमासँग किन भागेर हिँडेका छन्? सामना गरुन्, हिजो जसरी हात जोडेर मागेका थिए, त्यसैगरी मलाई डिभोर्स गर्नुको चित्तबुझ्दो कारण बताऊन्। म सजिलै डिभोर्स पेपरमा हस्ताक्षर गरिदिन्छु।’

‘हिजो मन पर्‍यो, हात जोडेर मागेर विवाह गरे। आज मन भरियो, विचार मिलेन, त्यसैले म मुक्ति चाहन्छु भनेर मुद्दा दर्ता गरेको छ। अनि भागेर हिँडेको छ। के हामी छोरीहरू लोग्नेमान्छेका प्रयोगशाला हौँ?’ उनको प्रश्न छ।

शीतलकृष्ण कुनै पनि माध्यमबाट अहिले उनीसँग सम्पर्कमा छैनन्। अदालतमा उनका भाइ आउँछन्, धम्काएर जान्छन्। प्रहरीले पनि उनलाई संरक्षण दिएर राखेको उनको आरोप छ।

‘नत्र उनी यहीँ कथावाचन गर्दै हिँडेका छन्। उनीविरुद्ध चौकीमा हिंसाको उजुरी छ। किन पक्राउ पर्दैनन्? के धर्मको नाम धारण गरेर जति हिंसा गरे पनि हुन्छ श्रीमतीलाई?’ स्वीकृतिको प्रहरी प्रशासनलाई प्रश्न छ।

यो कलह बाहिर ल्याएर दुनियाँलाई रमिता देखाउन मन कहाँ थियो र उनलाई? आफूमाथि भएको अन्यायको सजाय श्रीमानलाई दिलाउने मात्र उनको उद्देश्य थियो। तर, प्रहरी प्रशासन पनि उनको न्यायका लागि सहयोगी बनिदिएन। त्यसपछि बाध्य भएर बोल्नुपरेको उनको तर्क छ।

‘मलाई थाहा छ, समाजका कथित भगवानसँगको लडाइँ सजिलो छैन। तर, यो समाजमा जसले गरे पनि गलत गलत नै हुन्छ भन्नेर बोल्न सक्ने हिम्मतको पाठ बन्नु छ। मैले मेरो श्रीमानसँग र यो राज्यसँग ठूलो केही चाहेकी छैन। राज्य पीडितका लागि सहयोगी बनिदेओस्, अनि दुनियाँलाई ज्ञान बाँडेर आफ्नो वशमा पार्न सक्ने मेरो श्रीमानले मलाई छोड्नुको चित्तबुझ्दो जवाफ दिनुहोस्,’ स्वीकृति भन्छिन्, ‘बाँचिरहँदा जिन्दगीमा कुनै दिन मैले म वस्तु जसरी प्रयोग भएर मिल्काइएकी थिएँ भन्ने आत्मग्लानि बोकेर हिँड्नु नपरोस्। म पनि यो समाजका अरू मान्छेजस्तै उहाँको अनुयायी भएर हिड्न सकूँ।’ राधिका अधिकारी( नेपालखबरबाट साभार)

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts