काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कति जना पक्राउ परे भन्दै प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसले सहकारीको रकम ठगी र अपचलनमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग उठाउँदै आएको छ । संघीय संसदअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बडूले सोही प्रसंग उठाएका हुन् । आज समितिमा लामिछाने तथा प्रहरी प्रमुख बसन्तबहादुर कुँवर पनि उपस्थित भएका छन् ।
सहकारी ठगी प्रकरणमा फरार कति छन् ? कति पक्रिइयो जानकारी गराइयोस्, लामिछानेसमेत रहेको गोर्खा मिडियामा सहकारीको रकम गएको प्रसंगमा बडूले भने, अन्य प्रयोजन भनेर गोर्खा मिडियाको नाममा १० करोड आउन हुन्थ्यो कि हुन्थेन ?
छानबिन नसकिँदासम्म स्वार्थ बाझिने जिम्मेवारी लामिछानेले लिन नहुने बडूको भनाइ छ । नाम मात्र मिलेको हो कि अरु को हो रवि लामिछाने भनेको ? १ करोड उहाँका नाममा आएको छ यो मिल्ने हो कि होइन ? बडूले भने, छानबिन नसकिँदासम्म उहाँ जिम्मेवारीबाट बाहिरिदिनुहुन्छ भन्ने हाम्रो अपेक्षा हो । अहिलेको आवस्यकता पनि त्यही हो ।
सरकारले सबैमाथि छानबिन हुन्छ भन्दै आएको उल्लेख गर्दै बडूले सबैमाथि छानबिन हुनुपर्ने आफूहरूको भनाइ रहेको बताए ।
त्यस्तै, सांसद दुर्गा राईले फागु पूर्णिमामा ढोलाहिटीमा भएको घटनाबारे प्रश्न गरिन् । उक्त घटनामा गृह प्रशासनको काम राम्रो नदेखिएको उनको भनाइ छ । आर्थिक चलायमान बनाउने भनेर रातभर काठमाडौं खोल्दै छौँ । होलीको दिन मध्यरातमा जघन्य घटना घट्यो, काठमाडौं सुरक्षित गर्न सक्नुहुन्छ कि हुन्न ?
सानो निहुँमा पनि हत्या हुन थालेको भन्दै त्यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिइन् । कोदालो प्रहारबाट महिलाको हत्या हुन्छ, ४०० रुपैयाको निहुँमा हत्या हुन्छ, बलात्कार हुन्छ हत्या हुन्छ अनुसन्धानको दायरा छ कि छैन ?ु उनले प्रश्न गरिन् ।
त्यस्तै, कांग्रेस सांसद हृदयराम थानीले गिरिबन्धु टी स्टेटको जग्गाको सम्बन्धमा छानबिन हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए । सबै कालखण्डका भ्रष्टाचारका काण्डहरू छानबिन गर्ने भन्नुभएको छ । गिरिबन्दु टी स्टेटमा हात हाल्न सक्नुहुन्छ कि सक्नुहुन्न ? क्यान्टोनमेन्ट, ललिता निवास, यति ओम्नी पनि छ, उलने भने ।
लामिछानेले राज्यको करुणा पनि हुन्छ भनेको उल्लेख गर्दै थानीले त्यस्तो करुणा तजबिजीमा चल्न थाले के हुन्छ भन्ने प्रश्न गरे । अघिल्लो पटक गृहमन्त्री हुँदा लामिछानले निर्मला पन्तका दोषी पत्ता लगाउने भनेकोमा त्यसको कार्यान्वयनमा प्रश्न उठाए ।
निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको छानबिन गरेर दोषी पत्ता लगाउने भन्नुभएको छ । अघिल्लो कार्यकालको पहिलो निर्णय थियो त्यो, कार्यान्वयन हुन्छ कि हुँदैन ? उनले प्रश्न गरे ।