काठमाडौं । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि दिउँसो १ बजे बोलाइएको बागमती प्रदेशसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन । नेकपा एकीकृत समाजवादीका एक सांसद नआइपुगेपछि बैठक ४ बजेका लागि सारिएको छ ।
एसकी सांसद रमा आलेमगर नआउँदा बैठक सारिएको हो । एक जना सांसद अनुपस्थित भए बागमतीमा सत्ता पक्षले विश्वासको मत पाउने अवस्था छैन ।
सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीचको छलफलपछि नेकपा एस बागमती सरकारलाई विश्वासको मत दिन तयार भएको थियो ।
तर, सांसद बैठकमा नआएपछि बागमती सरकार धरमरमा परेको हो । सरकार टिकाउन जम्कट्टेललाई ५६ मत आवश्यक पर्छ । सत्ता गठबन्धन दलहरू एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । त्यसमा हाम्रो नेपाली पार्टीका २ सांसदको मत पाउँदा सरकारको पक्षमा बहुमत पुग्छ ।
बागमती प्रदेशसभाको विपक्षी बेन्चमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।