२५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको शान्ति र्‍याली

रुपन्देही । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले शान्ति र्‍याली निकालेको छ । नगरपालिकाले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु समेतको सहभागितामा शान्ति र्‍याली निकालेको हो ।

शान्ति र्‍याली लुम्बिनीका विभिन्न स्थान परिक्रमा गरी लुम्बिनी विकास कोषद्धारा आयोजित मुल समारोहमा सामेल भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार उक्त समारोहमा बुद्ध ज्ञान र शान्ति सन्देशको स्मरण गरिएको थियो । बुद्धजन्मस्थल लुम्बिनी विश्व शान्तिको स्थापना गर्ने भूमि समेत रहेको जानकारी दिदैं बुद्धजन्मस्थलमा मनाईने बुद्धजयन्तीले विश्वभरका बौद्ध सम्प्रदायमा सदभाव, शान्ति र सुखको सन्देश जाने उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले शान्तिको मूल श्रोत नै बुद्धदर्शन भएकाले यसको अनुशरण आजको आवश्यकता भएको बताए । “बुद्धजन्मस्थल लुम्बिनी धार्मीक तथा पर्यटनका हिसावले पनि अगाडि रहेकोले यसको प्रचार प्रसार साथै बुद्धदर्शनको महत्वलाई अझै परिस्कृत गर्दै लैजाने कार्यमा लुम्बिनी साँस्कृतिक नगरपालिका गम्भिर भएर लागेको छ” प्रमुख ज्ञवालीले भने ।

पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको अध्यक्षतामा भएको उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो । समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई बुद्ध दर्शन तथा अध्यात्मको केन्द्र साथै अन्तर्राष्ट्रिय शान्ती पर्यटन हवको रुपमा स्थापित गर्न आफू तन मन र बचनले संकल्पित रहेको बताए ।

त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले लुम्बिनी साँस्कृतिक नगरपालिकाले बुद्ध पुर्णिमालाई विशेष महत्व दिंदै हरेक बर्ष विशेष कार्यक्रमका साथ मनाइदै आएको जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख श्री सजरुद्दिन मुसलमान,जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी साथै स्थानीय संघसंस्था, शैक्षिक संघसंस्थाहरू, विभिन्न कलाकेन्द्रहरु तथा बिदेशी पर्यटकहरुसहित आम सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधान तथा परपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा हिजो साँझ लुम्बिनी आइपुगेका थिए । प्रधानमन्त्री प्रचण्ड सहित मन्त्री र मुख्यमन्त्रीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts