रुपन्देही । पछिल्लो समय मेलापर्वदेखि जन्मदिन,विवाह,वैवाहिक वर्षगाँठ लगायतका कार्यमा खर्चको होडबाजी बढ्दो छ । मान्छेसँग पैसा भन्दा पनि देखाउँने होडबाजीले सकिनसकि पार्टी प्यालेस,होटल रेष्टुरेण्टमा खर्च गर्ने परिपाटीले यस्ता कार्य खर्चीलो र भड्किलो हुँदै गएका छन् । नेपाली समाजलाई पाश्चात्य संस्कृतीले गाज्दो छ ।तर समाजमा सबै एकै प्रकारका मान्छे हुन्छन् भन्ने हुँदैन् समाज परिवर्तन र आफ्नो धर्म सभ्यता,संस्कृती बचाउँनुपर्छ भनेर लाग्ने मान्छे पनि कैयौं छन् । त्यस्तै समाजसेवा मार्फत आफ्नो कर्म गर्दै आएका लायन्स क्लव अफ बुटवल यूनिटीका संस्थापक अध्यक्ष कृष्ण आचार्य र क्लवका डाईरेक्टर एवंम व्यवसायी कृष्ण घिमिरेले आफ्नो जन्मदिनलाई पुण्य कमाउँने कार्यमा सरिक गराएका छन् । जन्मदिनमा गरिने खर्च लाई लायन्स क्लव अफ बुटवल यूनिटीमार्फत बुधबार बुटवल उपमहानगरपालिका -१५ उजेलापूरस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन ।
बुटवल यूनिटीको आयोजनामा भएको कार्यक्रममा डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै गभर्नर प्रधानाङ्गले बेसहाराहरुको सहारा बन्ने कार्यमा क्लवले देखाएको अग्रसरतको प्रशंसा गरे । क्लवका यस्ता कार्यले समाजमा मानविय सेवामा सकरात्मक सन्देश दिएको छ’ उनले भने ‘पछिल्लो समय मानविय भावना हट्दै गैईरहेको समयमा लायन्सहरुले सामाजिक भावका कार्य गर्नु गर्वको कुरा हो ।’
गभर्नर प्रधानाङ्गले क्लवको पहिलो कार्यक्रमनै अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा हुनु पुण्यको कार्य भएको बताए । क्लवको पहिलो कार्यक्रम नै बेसहाराहरुको सहयोगार्थ गरेको छ यो आफैमा पुण्यको कार्य हो । “जन्मदिन, विवाह,पार्टी लगायतमा लाग्ने खर्चको केही रकम सामाजिक कर्ममा लगाउनु पनि समाज परिवर्तको एक हिस्सा हो। सबैले हालेमालो गरेर अगाडी बढौं ।देश समाजले मलाई के दियो भन्दा पनि मैले समाजलाई के दिए भन्ने कुरा प्रधान रहन्छ । आज जसरी जन्मदिनको अवसर पारेर कृष्णद्वयले यो कार्यक्रममा सहयोग गर्नुभयो भोली अन्य साथीहरुले पनि समाजसेवाका कार्यमा अग्रसरता लिन प्रेरणा मिल्छ” प्रधानाङ्गले भने

कार्यक्रमा रिजन चेयर पर्सन तथा बुटवल शान्तीदीपका सँस्थापक अध्यक्ष लायन बाबुराम खनालले लायन्स इन्टरनेशनलका संस्थापकको जन्मोत्सवमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको समयमा यो कार्यक्रम गर्ने अवसर मिलेको भन्दै खुशि व्यक्त गरे । ‘हामी हाम्रो संस्थापकको जन्मोत्सवमा सेवाभाव अन्र्तगत सप्ताहव्यापी कार्यक्रम गरिरहेका छौं । यहि समयमा अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा सहयोग गर्न पाउँनु अवसर हो । आगामी दिनमा समेत समाजसेवाका कार्यक्रमलाई बुटवल यूनिटीले अगाडी सार्नेमा म विश्वस्त छु’ उनले भने
क्लबका अध्यक्ष कृष्ण आचार्यले आफूहरुले जन्मदिनमा कुनै तडकभडक भन्दा पनि बेसहाराहरुको घाउमा थोरै भएपनि मलमपट्टी लगाउँन सकिन्छ की भन्ने उदेश्य अनुरुप यो कार्यमा सरिक भएको बताए । उनले आफूले यो कर्म गर्न पाउँदा अत्यन्तै शान्तीको अनुभुति भएको बताए । आगामी दिनमा पनि क्लबका साथीहरू बिच अन्तरक्रिया तथा समन्वय गरेर यस्ता खर्चहरुलाई परोपकारको क्षेत्रमा लगाउन सके समाजमा पनि राम्रो सन्देश जाने र वास्तविक सेवा समेत हुने आचार्यको भनाई थियो ।

त्यस्तै क्लवका डाईरेक्टर एवंम व्यवसायी कृष्ण घिमिरेले समाजसेवा देखावटी नभई वास्तविकतामा गर्नुपर्नेमा जोड दिए । उनले जो असाहय छ, बेसहारा छ,वास्तविक पीडित छ,जो पहुँच बाहिर छ, ओझेलमा छ त्यस्ता व्यत्ति,समुदाय र संस्थालाई सहयोग गर्ने कार्यमा आफूहरु सरिक हुँदै आएको बताए । उनले धर्म वा पूण्य कमाउँन मठमन्दिर धाउँनु भन्दा यस्ता बेसहाराहरुको दुखमा आफूसक्दो सहयोग गर्न सके पूण्य यतैबाट मिल्ने बताए । ‘हामीले एक दिन पनि हाम्रा खर्चिला कार्य गर्नुको साटो यस्तो सेवामा समर्पित हुँदैगर्दा अन्य मानिसलाई राहत मिल्छ हामीलाई पनि देखावटी नभई वास्तविक सेवाको अनुभुति हुन्छ’ डाईरेक्टर घिमिरेले भने
लायन्स क्लव अफ बुटवल यूनिटीको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता क्लबका संस्थापक अध्यक्ष कृष्ण आचार्यले गरेका थिए भने कार्यक्रममा डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग,रिजन चेयर पर्सन लायन बाबुराम खनाल,रिजन चेयर पर्सन लायन बेदप्रसाद गैरे,जोन चेयर पर्सन लायन शेष नारायण बस्याल,लायन्स क्लव अफ बुटवल शान्तीदिपका अध्यक्ष तथा एक्सटेन्सन चेयर पर्सन विशाल पन्थी, लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमका अध्यक्ष लिलाराम रोकामगर लगायतको आतिथ्यता रहेको थियो ।

क्लवका प्रथम उपाध्यक्ष निराजन गौतमको संयोजकत्व एवंम स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सचिव सुरेश बेल्वासेले गरेका थिए भने कार्यक्रमा द्धितिय उपाध्यक्ष अनिल खनाल,कोषाध्यक्ष प्रकाश तिवारी लगायतको उपस्थिती रहेको थियो ।
२०७३ सालमा स्थापना भएको लुम्बिनी अनाथ आश्रममा शारिरिक रुपमा अपाङ्ग भएका, दृष्टि विहिन,बालबालिका लगायत झण्डै २५ जना व्यक्तिहरु रहेका छन् ।
