सानालाई ऐन ठूलालाई चैन : सहकारी ठगी प्रकरणमा मुछिएकी लेखा समिति सभापतिकी पत्नी १० लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवबप्रसाद भट्टराईको एकल इजलासले सहकारी ठगी प्रकरणमा मुछिएकी कोइरालालाई १० लाख रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । कोइराला बुधबार बिहान कार्यालय समयमा अदालतमा उपस्थित भएकी थिइन् । अदालतको आदेशलगत्तै १० लाख रुपैयाँ बुझाएर कोइराला रिहा भएकी छिन् ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएपछि कोइरालालाई पक्राउ गर्न प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि फरार भएकी कोइराला बुधबार बिहान अदालतमा उपस्थित भएकी थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, मोरङले जिल्ला अदालतमा २७ मंसिरमा सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा कोइरालाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही सहकारी ठगी प्रकरणमा यसअघि जिल्ला अदालतले रंगेली नगरपालिका २ का वडाध्यक्ष सन्तलाल खवासलाई पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो भने धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

सहकारी ठगी प्रकरणमा लेखा समिति सभापतिपत्नी कोइराला, सहकारीका अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएकामध्ये २३ जना अझै फरार छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts