मानव बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चिततासम्बन्धी प्रदेशस्तरीय कार्यशाला

हेटौंडा । मानव बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चिततासम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ ।

सुनिता फाउन्डेसनद्धारा सोमबार बागमति प्रदेशको राजधानी हेटौंडामा आयोजित “मानव बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्न हाम्रो भूमिका” प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश,हेटौंडा उपमहानगरपालिका, ओसीएमसी, हेटौंडा अस्पताल, जिल्ला प्रहरी कार्यालयको महिला सेल, कानूनी बार एसोसिएसन, गैरसरकारी संस्था, प्रभावितहरूका प्रतिनिधिलगायतको सहभागीता रहेको थियाे।

कार्यक्रममा बेचबिखन प्रभावितहरूले सामना गर्ने स्वास्थ्य सम्बन्धि चुनौतीहरूलाई सम्बोधन गर्ने,उनीहरुकाबीच आईपर्ने अवरोध र समस्याको पहिचानगरी व्यवहारत लागुहुने समाधान निकाल्ने प्रयासबारे छलफल भएको थियो । कार्यक्रममा प्रभावितहरुका लागि स्वास्थ्य अधिकार सुरक्षित गर्न सबैले आ आआफ्नो क्षेत्रबाट सक्रिय कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सहभागीहरूले स्वास्थ्य सेवामा पीडितहरूको पहुँच सुनिश्चित गर्न विभिन्न क्षेत्रहरूबीच समन्वयलाई बलियो बनाउनुपर्नेमा जोड दिए। पछिल्लो समय मानव बेचबिखनको बदलिँदो स्वरुप, यसका कारणहरु र आगामी कार्यदिशा तय गर्न सैद्धान्तिक र नीतिगत बहस राज्यस्तरबाटै हुनुपर्ने सहभागीहरुको जोड रहेको थियो । प्रभावितहरुको भविष्यको योजना र कार्यको लागि आधारभूत स्तम्भको रूपमा स्वास्थ्य पनि एक महत्वपूर्ण हिस्सा भएको औल्याउँदै उनीहरुको स्वास्थ्य अधिकार सुनिश्चिततामा राज्यका निकाय अझ गम्भिरता पूर्वक लाग्नु पर्ने औल्याए ।

सोही कार्यक्रममै मानव अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल योद्धा, शक्ति समूह र सुनिता फाउण्डेसनका संस्थापक तथा महिला पुनर्स्थापना केन्द्र (ओरेक) का उपाध्यक्ष स्वर्गीय सुनिता दनुवारको सम्झनामा मौन धारण समेत गरिएको थियो ।

४७ वर्षकी दनुवारको निधन गत पौष ९ गते भएको थियो । सन् १९९६ मा भारतको कोठीमा पुर्‍याइएकी उनको पाँच महिनापछि उद्धार गरिएको थियो । उद्धारपछि उनी मानव बेचबिखन रोकथाम तथा पीडितको उद्धार र पुनस्र्थापनाको काममा लाग्दै आएकी थिइन् । उनले कोठीमा पुर्‍याइएका हजारौँ चेलीको उद्धार गरी सीपमूलक काममा लगाएकी थिइन् ।

कामको सम्मान गर्दै उनलाई विभिन्न अन्तर्राष्ट्रिय निकायले सम्मान गरेका थिए । एसियाको ठुलो पुरस्कार मानिने रेमन म्यागासेसे पुरस्कारबाट समेत उनी सन् २०१३ मा सम्मानित भएकी थिइन् । उनको कामको प्रशंसा गर्दै अमेरिकी सरकारले समेत सन् २०१८ मा ‘ट्राफिकिङ इन पर्सन हिरो अवार्ड’बाट सम्मान गरेको थियो ।

स्वर्गीय दनुवारको परिकल्पनालाई साकार पार्न र मानव बेचबिखनविरुद्धको अभियानलाई अघि बढाउन सबै मिलेर अगाडी बढ्ने संस्थाका प्रतिनिधिहरुको भनाई रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts