जोरपाटी – नेपाल भरका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने तथा पानी जन्य बस्तु उत्पादक उद्योगीहरुको छाता संगठन नेपाल पानी उद्योग महासंघ र काठमाडौं पानी उद्योग संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई पानीका जार तथा इलेक्ट्रिक डिस्पेंसर हस्तान्तरण गरेको छ ।
महासंघले मंगलबार २५ ओटा जार र ४ ओटा इलेक्ट्रिक डिस्पेंसर हस्तान्तरण गरेको हो । उता काठमाण्डौं संघले केहि दिनपछि जिल्ला प्रशासन कार्यालयलाई थप जार तथा डिस्पेंसर हस्तान्तरण गर्ने बताएको छ ।
नेपाल पानी उद्योग महासंघका अध्यक्ष बिक्रम लिम्बु चेमजोङ सहित काठमाडौं पानी उद्योग संघका प्रतिनिधिहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलको प्रतिनिधि मण्डल समक्ष जार तथा इलेक्ट्रिक डिस्पेंसर हस्तान्तरण गरेको हो ।
त्यस्तै महासंघका अध्यक्ष लिम्बुले जिल्ला प्रशासन कार्यालयलाई नियमित रुपमा जार तथा बोतलका शुद्ध प्रसोधित पिउने पानी समेत उपलब्ध गराउने व्यस्था गरेको बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा अराजक समूहले जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेपछि कार्यालय पूर्ण रुपमा क्षति भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले सेवा प्रवाह भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगै रहेको भवनबाट सञ्चालन गर्न थालेको छ ।
