एजेन्सी । दक्षिण अमेरिकी देश भेनेजुएलामा एक मिनेटभित्र आएका दुई शक्तिशाली भूकम्पले ठूलो क्षति भएको छ । स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट र ६ बजेर ५ मिनेटमा लगातार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आउँदा नेपालमा बिहीबार बिहान ४ बजेर ५० मिनेट गएको थियो ।
सन् १८२१ मा स्पेनविरुद्धको स्वतन्त्रताको युद्धमा ऐतिहासिक जित पाएको दिन भएकाले बुधबार भेनेजुएलामा सार्वजनिक बिदा थियो । सोही कारण स्कुल र कार्यालय बिदा भएकाले धेरैजसो मानिसहरू घरमै थिए ।
अमेरिकी जियोलोजिकल सर्भेले यो भूकम्पमा १० हजार भन्दा बढीको मृत्यु भएको आशंका ४० प्रतिशत र त्योभन्दा बढीको मृत्यु भएको आशंका ३० प्रतिशत बढी रहेको आशंका गरेको छ । यो सामग्री तयार पार्दासम्म भूकम्पमा परी करिब २ सय जनाको मृत्यु भएको तथ्यांक आइरहेको छ ।
डरहम विश्वविद्यालयका प्राध्यापक मार्क एलनले भेनेजुएलामा १ मिनेटभित्र २ शक्तिशाली भूकम्प आउनु असामान्य घटना भएको बताएका छन् । उनले भूकम्पबाट जमिनमुनि रहेको फल्टलाइन पुरिँदा अर्को फल्टलाइनमा दबाब बढेर केही सेकेन्डमै अर्को भूकम्प आएको हुनसक्ने अनुमान गरेका छन् । उनले यसबाट आगामी दिनमा अर्को ठूलो परकम्प आउनसक्ने खतरा समेत औँल्याएका छन् ।
दुवै भूकम्प राजधानी कराकसबाट करिब २९० किलोमिटर पश्चिममा गएका हुन् । भूकम्पका कारण सयौँ घर ढलेका छन् भने अरु हजारौँ घरमा आंशिक क्षति पुगेको छ । कराकसको विमानस्थलको छतको केही भाग खस्दा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । विमानस्थलको भवनको छत ढल्दा धुलोको मुस्लो उठेको देखिन्छ ।
भेनेजुएलामा पछिल्लो १२६ वर्षमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । यसअघि सन् १९०० मा ७.७ रेक्टरको भूकम्प आएको थियो । यसपछि १९६७ मा आएको ६.६ म्याग्निच्युडको भूकम्प आउँदा राजधानी कराकसमा समेत क्षति पुगेको थियो भने २ सयभन्दा बढीको मृत्यु भएको थियो ।
यो भूकम्पले पालोस ग्रान्डेस र अल्तामिरा क्षेत्र प्रभावित बनेको थियो । बुधबारको भूकम्पले पनि यही क्षेत्र प्रभावित भएको छ । लगातार भूकम्प आएर ठूलो जनधनको क्षति भएसँगै कार्यबाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रिय संकटको घोषणा गरेकी छन् ।
भेनेजुएला सधैँजसो भूकम्प जाने खतरा भएको देश हो । यहाँ क्यारेबियन प्लेट र दक्षिण अमेरिकी प्लेटबीच घर्षण हुने क्षेत्र पर्छ । बुधबार आएको भूकम्प पनि यिनै दुई प्लेटको घर्षणबाट आएको अमेरिकी जियोलोजिकल सर्भेले उल्लेख गरेको छ । सजिलो भाषामा भन्दा जमिनमुनि रहेका दुई ठूला चट्टान अर्थात् टेक्टोनिक प्लेटको टकराबपछि आएको भूकम्प भएकाले त्यसपछि पनि साना भूकम्पहरू आउने जोखिम हुन्छ ।
साधारणतया १ म्याग्निच्युडको भूकम्प महसुस हुँदैन । तर एकभन्दा माथि जति म्याग्निच्युडले भूकम्पको तीव्रता बढ्छ, सोही अनुपातमा यसको शक्ति पनि बढदै जान्छ । यो भनेको १ म्याग्निच्युडकोभन्दा २ म्याग्निच्युडको भूकम्प ३२ गुणा शक्तिशाली हुन्छ । ५ रेक्टरभन्दा ठूला भूकम्प निकै शक्तिशाली हुन्छन् भने ७ रेक्टरभन्दा बढीको भूकम्प विनाशकारी हुन्छ ।
Shivam Cement Banner
भूकम्पपछि राजधानी कराकसमा मानिसहरूले सडकमै रात बिताएका छन् । भूकम्पबाट घरहरू क्षतिग्रस्त हुनुका साथै लगातारको परकम्पका कारण मानिसहरू खुला आकाशमुनि बस्न बाध्य छन् । प्रशासनले सर्वसाधारणलाई क्षतिग्रस्त भवनबाट टाढा रहन र सुरक्षा निर्देशनको पालना गर्न अपिल गरेको छ । राष्ट्रपति डेल्सी रोड्रिग्वेजले आम मानिसलाई भूकम्प पछि हराइरहेकाहरू र क्षतिग्रस्त भवनबारे ‘भेनएप’ मा जानकारी दिन अनुरोध गरेकी छन् । २०२२ लन्च भएको भेनएप भेनेजुएलामा २०२४ मा राष्ट्रपति निकोलास मादुरोले सरकारविरोधी आन्दोलनको जानकारी लिनका लागि प्रयोग गरेकाले विवादित छ ।
