काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । आम आद्मी पार्टीका अध्यक्षसमेत रहेका केजरीवाललाई भारतीय केन्द्रीय एजेन्सी ईडीले बिहीबार अबेर पक्राउ गरेको हो । पक्राउ गर्नुअघि ईडीको टिमले केजरीवालको निवासमा छापा मारेको थियो ।
आज भारतीय उच्च अदालतले केजरीवालले ईडीले सोधपुछका लागि बोलाएको पत्र अवैधानिक रहेको भन्दै दायर गरेको रिट खारेज गरिदिएको थियो । उच्च अदालतको सो निर्णयपछि ईडीको टिमले उनलाई पक्राउ गरिएको हो । यसअघि पनि केजरीवाल सरकारका उपमुख्यमन्त्रीलाई पक्राउ गरिएको थियो । मदिरा ठेक्का घोटालामा उनलाई पक्राउ गरिएको हो । आमचुनाव हुनुअघि दिल्लीमा सबैभन्दा बलियो रहेको पार्टीका अध्यक्षलाई पक्राउ गरिएपछि भारतीय राजनीति तरंगित भएको छ ।
केजरीवाल पक्राउ परेपछि उनको पार्टी आप सर्वोच्च अदालत पुगेको छ । आप नेतृ आतिसीले केजरीवाल पक्राउको विरोधमा सर्वोच्च गएको बताएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उच्च अदालतको निर्णयमाथि चुनौती दिन सो पार्टी सर्वोच्च पुगेको हो ।
पक्राउ गर्नुअघि ईडीले १० पटकसम्म सोधपुछका लागि केजरीवाललाई बोलाएको थियो । तर, यसरी बोलाउनु नै अवैधानिक रहेको दाबी गर्दै उनी बयानमा गएका थिएनन् । र उच्च अदालतमा रिट दायर गरेका थिए । तर, सो रिट खारेज भएपछि उनी पक्राउ परेका हुन् ।