काठमाडौं । अर्घाखाँचीको मालारानी-५ स्थित वाँगी स्वास्थ्य चौकीमा १ दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
उदीयमान जनजागृती क्लव मालारानीको आयोजनामा चैत्र २३ गते (शुक्रबार) एकदिने निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
मालारानी गाउँपालिका -५ वडा कार्यालयको सहकार्य एवम् चौराहा हस्पिटल प्रालि बुटवल र वाँगी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा शिविर संचालन गर्न लागिएको क्लबका उपाध्यक्ष विमल चौहानले जानकारी दिए । उनका अनुसार शिविरमा बुटवलबाट जनरल फिजिसियन विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ,स्त्रीरोग विशेषज्ञसहितको टोलीले सेवा दिनेछ । शिविरमा मुटुको इसीजी, ब्लड, सुगर जाँच लगायतका सेवाहरूसहित निशुल्क औषधी समेत वितरण गरिनेछ ।
‘अशिक्षा र विपन्नताका कारण रोगको उपचार भन्दा पनि लुकाउँने प्रचलनका कारण धैरै नेपाली जनताले अकालमै मृत्युवरण गरेका छन् । त्यो अवस्था हाम्रो समाजमा पनि नआओस्, गरिबीकै कारण उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् बेलैमा रोग पत्ता लगाई रोग निदान गर्न सकियोस् भन्ने उदेश्य अनुरुप शिविर संचालन गर्न लागिएको छ ‘उपाध्यक्ष चौहानले भने ‘सबैको सहयोग र सहकार्यबाटै समाज परिवर्तनको दिशामा लाग्ने हो ,यस्ता जागरुक तथा सचेतनाका कार्य गर्नु हाम्रो दाहित्व पनि हो ।’
क्लबले सामाजिक दाहित्वको भूमिका निर्वाह गर्दै विपन्न व्यक्तिहरुलाई उपचारको लागि आर्थीक सहयोग उठाउने,अग्नी पीडीतहरुलाई सहयोग,रक्तदानका कार्यक्रम साथै मालारानी ५ चौहानडाँडामा क्लबको भवनसँगै पुस्तकालय समेत सुचारु गरेको छ ।
