राप्रपा सत्ता गठबन्धनमा सहभागी नहुने,प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने

इलाम र बझाङमा हुने उपनिर्वाचनमा सहभागी हुने

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।

राप्रपाको यही शनिबार, आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ’, श्रेष्ठले भनेका छन्, ‘प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आए पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ।’

राप्रपाले राष्ट्रिय राजनीतिमा केन्द्रीयस्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु र गरिनुलाई अनुपयुक्त भनेको छ। ‘यो दृष्टिकोणलाई हाल कोसी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ’, राप्रपाले भनेको छ, ‘भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ।’

इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय पनि राप्रपाले गरेको छ।

उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्ला अध्यक्षसँग समन्वय गरि उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरिएको श्रेष्ठले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts