काठमाडौँ । देशभरसँगै आज (बिहीबार) पनि काठमाडौँ उपत्यकाको मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज पनि उपत्यकामा घाम देखिने सम्भावना ज्यादै कम छ।
‘आज पनि काठमाडौँ उपत्यकामा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘अघि बिहान ६ बजेसम्म पानी परेको थियो, तर अहिले रोकिएको छ। फेरि मध्याह्नपछि पानी पर्ने सम्भावना देखिएको छ।’
हिजो बुधबार पनि उपत्यकामा दिनभर घाम लाग्न पाएन भने हल्का पानी परिरह्यो। राति पनि वर्षा भएको थियो। जसका कारण काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीका अनुसार आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ। बुधबार यहाँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो।