लेखक भीष्म बाँस्कोटाद्धारा लिखित विश्वसम्पदा लोकमाला लोकार्पण

काठमाडौँ। लेखक भीष्म बाँस्कोटाद्धारा लिखित नेपालमण्डल विश्वसम्पदा लोकमाला पुस्तक लोकार्पण भएको छ ।
लोकलयमा लेखिएको सो पुस्तक शनिवार एक कार्यक्रमकाबीच लोकापर्ण भएको हो ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै वरिष्ठ इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले लोकलयमा लेखिएको नेपालमण्डल नेपालको इतिहास संस्कृतिको दृष्टिकोणले नौलो प्रयोग भएको बताए ।“लोकलयमा लेखिएको यो पुस्तकमा नबुझिने या बुझिने कुराहरूलाई पनि गद्यमा टिप्पणी हालेर बडो परिश्रमपूर्वक खुलाउनु भएको छ । नेपालको इतिहास र संस्कृतिको दृष्टिकोणले बिल्कुलै एउटा नौलो प्रयोग भएको छ । त्यसैले लेखकलाई साधुवाद दिनै पर्छ” उनले भने ।

यस्तै, वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्सालले नेपालमण्डल पुस्तकबाट इतिहासको विषयलाई काव्य रसमा प्रस्तुत गरेर साहित्यिक क्षेत्रमा नौलो थालनी भएको बताए । मुनामदन छन्दको प्रयोग भएको भन्दै उनले पुस्तकमा काव्यात्मक प्रवाह रहेको पनि बताए । नेपाली साहित्य परम्परामा सबै सूचना छन्दमा लेख्ने र लय हालेर वाचन गर्ने गरिएकोमा पछिल्लो समय आधुनिक गद्य तथा पद्य कविता लेख्दा लय परम्परा र सूचनालाई छन्दमा हालेर लेख्ने परम्परा हराउँदै गएको उनको भनाई थियो ।

साहित्यकार डा. लम्सालले पुस्तकले हराउँदै गएको सूचनालाई लय प्रवाहमा ल्याउने कुरालाई जीवित पारेको र लक्ष्मीप्रसाद देवकोटाले पनि मन पराएको छन्दलाई नेपालको इतिहासजस्तो महत्त्वपूर्ण क्षेत्रमा घुसाएकोमा लेखक बाँस्काटाको प्रशंसा गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमण्डल नेपालको मुटु रहेको भन्दै बाँस्कोटाद्वारा लिखित पुस्तकले सम्पदा, साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजानका लागि महत्त्वपूर्ण योगदान गर्दै सांस्कृतिक प्राणत्वलाई जीवित राख्ने काम गरेको बताए । “नेपालमण्डलका भौतिक र अभौतिक सम्पदालाई पुस्तकमा समावेश गरिएको छ, सम्पदा र इतिहासबारेमा सिद्धहस्त चर्चा गरिएको छ, नेपालमण्डल देशको मुटु हो, यसबारेमा चित्रण गरेर लेख्नु महत्त्वाकाङ्क्षी काम हो, यसले हाम्रो इतिहास र संस्कृतिको जगेर्ना गर्दै सम्पदाको महत्त्व पहिचानमा भूमिका खेल्नेछ” मन्त्री पाण्डेले भने । यस पुस्तकले नयाँ पुस्तालाई पनि हौसला प्रदान गर्दै इतिहासमा साहित्यिक कलम चलाउन प्रेरणा मिल्ने पनि बताउँदै मन्त्री पाण्डेले नेपालको इतिहास, साहित्य र सम्पदाको माध्यमबाट विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चलायमान बनाउन सकिनेमा उहाँले जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले सम्पदा र संस्कृतिबारे सङ्ग्रह गरेर लोकलयलाई जीवन्त राख्दै ध्रुपद परम्परालाई निरन्तरता दिएकोमा लेखकलाई धन्यवाद दिए । उनले भने ‘पुस्तक अहिलेको सन्दर्भमा संस्कृति, इतिहास र सम्पदा बुझ्न महत्त्वपूर्ण छ, लोकलयमा पठनपाठन गराउन सकेमा हराउँदै गएको सभ्यता ब्युताउँन सकिनेछ ।”

लेखक भीष्म बाँस्कोटाले इतिहास र संस्कृतिको विषय निरस बन्दै गइरहेको वर्तमान सन्दर्भमा लोकलयमा लिखित यो पुस्तकले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदालाई सर्वसाधारणले बुझ्नेगरी एकीकृत र लोकलयमा उक्त पुस्तकमार्फत प्रस्तुत गरेको बताए । उनले २०७६ सालमा सुरु गरेर २०८१ मा पुस्तक तयार पारेको जानकारी दिए ।

३१२ पृष्ठ लामो यस पुस्तकको मूल्य ९५० रहेको छ, जसको प्रकाशन टिकाप्रकाश बाँस्कोटाले गरेका छन् । यस पुस्तकको आवरण राजेन्द्रराज बज्राचार्यले तयार गरेका हुन।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, पूर्वसचिवद्धय श्री कृष्णहरि बाँस्कोटा, युवराज भूसाल, प्राज्ञ, प्राध्यापक, मन्त्रालयका सहसचिव, संस्कृतिविद्, इतिहासविद्, पुरातात्त्विक, संरक्षणविद्, वास्तुकलाविद्, शिक्षाविद्, आम सञ्चारकर्मी, अनुसन्धातालगायत झन्डै ८० जना विशिष्ट व्यक्त्त्विहरुको सहभागिता रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts